पछिल्लो समय धेरै नेपालीलाई उच्च रक्तचापको समस्या देखिन थालेको छ । स्वस्थकर खानपान, शारीरिक व्यायाम, मानसिक तनावजस्त कारणले उच्चरक्तचापलाई बढाइरहेको छ । मसिनी विकले उच्च रक्तचापको समस्या भएर औषधि खान थालेको वर्ष दिन भयो । सिक्रे नुवाकोटकी विक गाउँमै औषधि नपाइने भएकाले काठमाडौँ आएर औषधि लाने गरेको बताउछिन् । उनले चिकित्सकको सल्लाहानुसार नियमित रुपमा औषधि सेवन गर्दै आउएकी छन् ।
चालीस वर्षीय कपिल थापाले भने रक्तचाप उच्च देखिएको लामो समयसम्म आफँै निको होला भन्ने सोचेर औषधि नखाए पनि पछि झन् बढ्दै गएपछि चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गर्दै छन् ।वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा प्रकाश रेग्मी अहिले २० देखि ३० वर्षका युवामा साइलेण्ट किलर रक्तचापको समस्या देखिन थालेको बताउछन्। उच्च रक्तचापका कारणमध्ये करीब २ देखि ३ प्रतिशतको मात्रै कारण प्रष्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण अझै पत्ता लागेको छैन ।
स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६ अनुसार २३ दशमलव ४ प्रतिशत पुरुष र १६ दशमलव ८ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षसम्बन्धी सर्भेले पनि २५ प्रतिशत नेपालीमा उच्च रक्तचाप भएको देखाएको थियो ।परिषद्का अनुसन्धान अधिकृत डा कृष्ण अर्याल बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान र रहनसहनका कारण अहिलेका युवा पुस्तामा उच्च रक्तचाप र यसका कारण हुने हृदयाघात, मतिष्काघात र मिर्गौला खराबीका समस्या दिन प्रतिदिन बढ्दै गएको बताउछन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल भन्छन् “पछिल्ला दिनमा मानिसको खानेबानीमा आएको परिवर्तन, शारीरिक निष्क्रियता, नुनको अत्यधिक प्रयोग, पत्रुखाना र फास्टफुड खाने बानी, मानसिक तनाव, धूमपान र रक्सी सेवनजस्ता कारणले उच्च रक्तचापको समस्या बढ्दै गएको हो ।”
नेपालमा गरिएका पछिल्ला सर्वेक्षणअनुसार युवामा हुने
हृदयाघातको ५० प्रतिशत कारण उच्च रक्तचाप हो । मस्तिष्काघातमा ७४ प्रतिशत र मिर्गौला खराबी हुनुमा ९० प्रतिशत कारण पनि उच्च रक्तचाप भएको पुष्टि गरेको चिकित्सक अनिलको भनाइ छ । उनले यस्ता पीडितले नियमित औषधि खानुपर्ने र हरेक एक वर्षमा रगतमा चिल्लो चिनीको मात्रा र उच्च रक्तचापको मात्रा जाँच गराउन आवश्यक रहेको बताए ।
(SOURCE:
http://www.nepalihealth.com/)
No comments:
Post a Comment