काठमाडौं-
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले धेरै मेडिकल कलेजले विद्यार्थीसँग अवैध रुपमा बढी शुल्क असुलेर करोडौं रुपैयाँको कालोबजारी गरेको आरोप लगाएका छन्।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले शुल्कमा कालोबजारी गर्ने मेडिकल कलेजहरुलाई तत्काल सम्बन्धन खारेजसम्मको प्रकिया अघि बढाउन माग गरेका छन्। सम्बन्धन खारेजीको प्रक्रिया लगायतका कदम चाल्न उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्जका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका छन्। बढी शुल्क लिने कार्यमा नेपाली सेना सम्बद्ध मेडिकल कलेज समेत जोडिएको भन्दै उनले यसलाई दुर्भाग्यपूर्ण बताएका छन्।
डा केसीले हालै यातायात क्षेत्रको सिन्डिकेट विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको उल्लेख गर्दै अब मेडिकल माफियाहरुको सिन्डिकेट विरुद्ध पनि कडाइका साथ लाग्नुपर्नेमा जोड दिएका छन्। उनले खासगरी त्रिवि अन्तर्गत मेडिकल कलेजहरुमा स्नातकोत्तर तहको शुल्कमा कालोबजारी भइरहेको विज्ञप्तिमा जनाएका छन्। आइओएमबाट अधिकार खोसेर लगेका त्रिभुवन विश्वविद्यालयका भ्रष्ट पदाधिकारीहरुसँगको मिलेमतो र संरक्षणमा यस्तो गलत कार्य भएको उनको आरोप छ।
यसै प्रसंगमा डा केसीले गौरीबहादुर कार्की संयोजकत्वको छानबिन आयोगको प्रतिवेदन अनुसार त्रिवि पदाधिकारीसहित सबै दोषीलाई तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
डा केसीले शिक्षा मन्त्रालय तथा नेपाल सरकारले शुल्कमा कालोबजारी गर्नेहरुलाई दण्डित गर्नुको साटो मूकदर्शक बन्दा यस्ता अवैध क्रियाकलापहरुले प्रोत्साहन पाएको टिप्पणी गरेका छन्। मेडिकल शिक्षा लगायत समग्र शिक्षा क्षेत्रमा विसंगति र अपराध रोक्ने दिशामा जिम्मेवारीपूर्वक तत्काल काम थाल्न उनले संसदमा रहेका दलहरुको समेत ध्यानाकर्षण गराएका छन्।
जेठ १, २०७५ मगलवार १३:१५:३४ प्रकाशित (http://www.swasthyakhabar.com/)
Comments
Post a Comment